काठमाडौँ । स्वास्थ्य बीमा ऐनलाई समयानुकूल परिमार्जन गर्दै सङ्घीय संसद्मा पेस गर्ने तयारी स्वरूप स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको सेवालाई थप प्रभावकारी, व्यवस्थित र आर्थिक रूपले दिगो बनाउने लक्ष्यसहित कानुनी सुधारको प्रक्रिया अघि बढाइएको हो ।
विधेयकका प्रावधानहरूबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज मन्त्रालयमै सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेकी छिन् । उक्त छलफलमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष लगायतका सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । आवश्यक आन्तरिक गृहकार्य र परामर्शपछि तयार पारिएको विधेयकलाई कानुनी प्रक्रिया पूरा गरी छिट्टै संसद्मा दर्ता गरिने मन्त्री मेहताको सचिवालयले जानकारी दिएको छ ।
प्रस्तावित संशोधन विधेयकले बीमाको दायरा विस्तार र वित्तीय व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको छ । जसअनुसार सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार व्यक्ति र सर्वसाधारण नागरिकलाई अनिवार्य रूपमा बीमा प्रणालीमा आबद्ध गरिनेछ । यस्तै, आर्थिक अवस्था कमजोर भई योगदान रकम तिर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको सम्पूर्ण दायित्व राज्यले व्यहोर्ने व्यवस्था विधेयकमा समेटिएको छ । योगदान सङ्कलन र सेवाबापतको भुक्तानी प्रणालीलाई समेत थप चुस्त बनाउने प्रस्ताव गरिएको छ ।
यसैगरी, छरिएर रहेका स्वास्थ्य सुविधाहरूलाई एकीकृत गर्ने योजनासमेत विधेयकमा छ । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोष जस्ता निकायबाट प्रदान गरिने उपचार सुविधाबीच समन्वय कायम गरी एउटै प्रणालीमा ल्याउने लक्ष्य लिइएको छ । स्वास्थ्य संस्थाहरूको नेटवर्क विस्तार गर्ने, सेवा प्रवाहलाई झन्झटरहित बनाउने तथा अनावश्यक स्वास्थ्य परीक्षण र नक्कली वा अनुचित दाबी भुक्तानीलाई कडाइका साथ नियन्त्रण गर्ने विषयलाई पनि मस्यौदाले समेटेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई केवल उपचार खर्च व्यहोर्ने माध्यममा मात्र सीमित नराखी नागरिकको समग्र स्वास्थ्य सुरक्षाको प्रत्याभूतिसँग जोड्न खोजिएको मन्त्री मेहताले स्पष्ट पारिन् । आर्थिक अभावकै कारण कुनै पनि नागरिक आधारभूत तथा गुणस्तरीय उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नीतिगत तथा कानुनी सुधारको थालनी गरिएको उनको भनाइ छ ।

