काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुलेको आरोपमा भारतको दिल्लीबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई स्वदेश फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार दिल्लीमा नियन्त्रणमा लिइएका अर्याललाई हवाईमार्ग हुँदै सिलगुडीस्थित बागडोगरा विमानस्थल पुर्याइएको थियो । बागडोगराबाट स्थलमार्ग हुँदै झापा ल्याएर भद्रपुर विमानस्थलबाट जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।
काठमाडौँ अवतरण गराएलगत्तै आवश्यक कानुनी प्रक्रिया पूरा गरी म्याद थपका लागि उनलाई आजै जिल्ला अदालत, काठमाडौँमा पेस गर्ने तयारी गरिएको छ ।

