काठमाडौँ । सरकारका कामकारबाही, आगामी निर्वाचनको तयारी र हालैको भारत भ्रमणलगायतका समसामयिक विषयमा केन्द्रित रहेर प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार झन्डै पाँच घण्टा लामो छलफल भएको छ ।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा दुई शीर्ष नेताबीच लामो संवाद भएको हो ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले आफ्नो पछिल्लो भारत भ्रमण र त्यस क्रममा हासिल भएका उपलब्धिहरूका बारेमा सभापति लामिछानेलाई विस्तृत जानकारी गराएका थिए । दुई नेताबीच उक्त भ्रमणका विविध पक्षमा गहन विमर्श भएको जनाइएको छ ।
यसैगरी, आगामी निर्वाचन र त्यसका लागि आवश्यक तयारीका विषयमा समेत दुवै नेताले विचार आदानप्रदान गरेका छन् । पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियानको सन्दर्भमा पनि उनीहरूबीच कुराकानी भएको थियो ।
सभापति लामिछानेको सचिवालयका अनुसार भेटघाटमा मन्त्री, मन्त्रालय तथा समग्र सरकारको कार्यसम्पादनका बारेमा समीक्षात्मक छलफल भएको छ । साथै, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत दुई नेताबीच संवाद भएको सचिवालयले जनाएको छ ।

