काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा सर्वसाधारण ठगिने क्रम बढेपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयले संयुक्त सचेतनामूलक अभियान सञ्चालन गर्ने भएका छन् ।
रोजगारीको प्रलोभनमा हुने ठगी नियन्त्रण गर्दै नागरिकलाई कानुनी र सुरक्षित प्रक्रियाबारे स्पष्ट जानकारी दिने उद्देश्यले दुई मन्त्रालयबीच सहकार्य हुन लागेको हो ।
कानुनमन्त्री सोविता गौतमले राजनीतिमा प्रवेश गरेयता नागरिकहरूबाट प्राप्त गुनासाहरूमध्ये वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी प्रमुख समस्याका रूपमा रहेको बताएकी छन् । सोही समस्यालाई सम्बोधन गर्न दुवै मन्त्रालयको समन्वयमा छिट्टै विशेष कार्यक्रम सुरु गर्न लागिएको उनले जानकारी दिइन् ।
उनका अनुसार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको नेतृत्वमा वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका काम अघि बढिरहेका छन् । यद्यपि, सरकारी संयन्त्र वा नीतिमा सुधार गरेर मात्र अपेक्षित नतिजा नआउने भएकाले लक्षित वर्गसम्म सही सूचना पुर्याउनु अनिवार्य रहेको मन्त्री गौतमको भनाइ छ ।
समुदायस्तरमै सचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले भनिन्, “प्रणाली सुधारेर मात्र पुग्दैन, नागरिकलाई सही प्रणालीबारे सुसूचित गराउनु पनि उत्तिकै आवश्यक छ । वैदेशिक रोजगारीमा जान चाहने नागरिकले कुन प्रक्रिया अवलम्बन गर्ने, कसलाई विश्वास गर्ने, ठगीबाट कसरी बच्ने र समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने जानकारी समुदायस्तरसम्म पुग्नुपर्छ ।”
तल्लो तहसम्म वास्तविक सूचना प्रवाह गरी वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्यका साथ दुई मन्त्रालयले संयुक्त पहल अघि बढाउन लागेका हुन् ।

