भक्तपुर । सार्वजनिक जग्गामा बनाइएका अनधिकृत संरचना हटाउने सरकारको सक्रियतासँगै मनोहरा खोला किनारका सुकुम्वासीहरूले स्वतःस्फूर्त रूपमा बस्ती खाली गर्न थालेका छन् ।
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली क्षेत्रमा पर्ने यस बस्तीका बासिन्दाहरूले सरकारी अभियानलाई साथ दिँदै आफ्ना सरसामान सार्न सुरु गरेका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ७ सय ७७ परिवार बसोबास गर्दै आएको यस क्षेत्रका झन्डै ८० प्रतिशत बासिन्दाले शनिबार दिउँसोसम्म बस्ती छाडिसकेका छन् । प्रहरीले शुक्रबार मात्रै बस्तीमा माइकिङ गरेर वास्तविक सुकुम्वासीलाई सरकारको सम्पर्कमा आउन र अरूलाई ठाउँ खाली गर्न आग्रह गरेको थियो । काठमाडौँको थापाथली र तीनकुने क्षेत्रका सुकुम्वासी बस्ती हटाउने टोली मनोहरा आइपुग्नु अघि नै यहाँका बासिन्दाले सहयोग पुर्याएका हुन् ।
यस बस्तीमा साना टहरादेखि दुईतले पक्की घरसम्म गरी ७ सय ७७ वटा संरचना रहेका छन्, जहाँ करिब १ हजार ६ सय मानिस बस्दै आएका थिए । सुरक्षाका लागि अहिले त्यस क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
वर्षौँदेखि खोला किनारको दुर्गन्धित वातावरणमा बस्नु परेको उल्लेख गर्दै कतिपय बासिन्दाले सरकारले उचित विकल्प वा व्यवस्थापन गरिदिए आफूहरू स्थायी रूपमा अन्तै जान तयार रहेको बताएका छन् ।
कतिपयले भने सोही ठाउँमा बसेबापत बिचौलियालाई भाडा समेत तिर्दै आएको खुलेको छ ।



