काठमाडौँ । बागमती र मनोहरा नदी किनारका सार्वजनिक क्षेत्रमा अवस्थित जोखिमपूर्ण बस्तीहरू खाली गर्ने क्रममा १४४ परिवार सरकारको सम्पर्कमा आएका छन्।
शनिबार थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रका बस्ती खाली गराइएपछि आफ्नो बासस्थान नभएको भन्दै ती परिवारले विवरण दर्ता गराएका हुन्। सरकारले उद्धार गरिएका ती नागरिकहरूलाई सुरुमा दशरथ रंगशाला पुर्याएर लगत संकलन गरेको थियो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, सम्पर्कमा आएका परिवारहरूलाई तत्कालका लागि काठमाडौँका विभिन्न होटलहरूमा व्यवस्थापन गरिएको छ। उनीहरूका घरायसी सामानहरू भने दशरथ रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यासमा सुरक्षित रूपमा भण्डारण गरिएको छ। काठमाडौँ महानगरपालिका-९ को गैरीगाउँ, वडा नम्बर ३१ को शान्तिनगर र वडा नम्बर ११ को थापाथली क्षेत्रमा सरकारी जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्यलाई प्रशासनले तीव्रता दिएको छ।
थापाथलीको बस्ती शनिबार दिउँसो शान्तिपूर्ण रूपमा खाली गरिएको थियो , जसमा स्थानीयले समेत सरकारको कदमलाई साथ दिएका थिए। सामान ढुवानीमा नेपाल प्रहरी र महानगर प्रहरीले प्रत्यक्ष सहयोग पुर्याएका थिए। यद्यपि, कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार र मनोहरा टोलमा भने बस्ती खाली गर्ने क्रममा शनिबार साँझ केही बेर तनाव उत्पन्न भएको थियो। ती क्षेत्रका बाँकी बस्तीहरू आज खाली गराइने तयारी छ।



