काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल यात्रा तय गर्नका लागि आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्स आमनेसामने हुँदैछन् ।
पहिलो क्वालिफायर अन्तर्गत हुन लागेको यस प्रतिस्पर्धामा विजयी हुने टोलीले सिधै फाइनलको टिकट काट्नेछ । साबिक विजेता बैंगलुरु लगातार दोस्रोपटक उपाधि हात पार्ने दाउमा छ भने बलियो लयमा रहेको गुजरात चौथो सिजनमा आफ्नो अर्को उपाधि यात्रा सुरक्षित गर्न मैदान उत्रनेछ ।
यस सिजनमा यी दुई टोलीबीचको भिडन्त बराबरी जस्तै रहेको छ । समूह चरणका दुई खेलमध्ये एकमा बैंगलुरु र अर्कोमा गुजरातले बाजी मारेका थिए । दुवैले आ–आफ्नो मैदानमा जित निकालेका कारण धर्मशालाको तटस्थ मैदानमा हुने आजको खेलमा कसैलाई पनि गृह मैदानको फाइदा रहने छैन ।
उच्च स्कोरका लागि चिनिने धर्मशालाको एचपीसीए मैदान ब्याटिङका लागि अनुकूल मानिन्छ । गुजरात आफ्नो मजबुत शीर्ष क्रमको ब्याटिङमा निर्भर रहँदा बैंगलुरुले धारिलो बलिङको मद्दतले खेल आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ ।
बैंगलुरुका लागि चालु सिजनमा ५५७ रन जोडेका विराट कोहली मुख्य हतियार हुन् भने देवदत्त पडिक्कलको ब्याटिङ र २४ विकेट लिइसकेका भुवनेश्वर कुमारको बलिङ टोलीका लागि महत्त्वपूर्ण रहनेछ । अर्कोतर्फ, गुजरातका लागि कप्तान शुभमन गिल र साई सुदर्शनको ओपनिङ जोडी, तेस्रो नम्बरमा आउने जोस बटलर तथा अलराउन्डर जेसन होल्डर मुख्य खम्बाका रूपमा रहेका छन् ।
समुद्र सतहबाट करिब १ हजार ५ सय मिटरको उचाइमा रहेको यो मैदानमा साना बाउन्ड्री र हल्का हावा चल्ने भएकाले बल सजिलै बाउन्ड्री पार हुने गर्छ । सुरुवाती ओभरमा बलरहरूले स्विङ पाए पनि खेल बढ्दै जाँदा शीत (ड्यु) का कारण बलिङ गर्न कठिन हुने अनुमान गरिएको छ । यी दुई टोलीबीच भएका अहिलेसम्मका ८ भेटमा दुवैले समान ४–४ खेल जितेर कडा प्रतिस्पर्धाको इतिहास बनाएका छन् ।

