काठमाडौँ । मुलुकका विभिन्न भू-भागमा पश्चिमी र स्थानीय वायुसँगै पूर्वी क्षेत्र नजिक रहेको न्यून चापीय प्रणालीको मिश्रित प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी र हिमाली भेगमा आंशिक कुहिरो र बादल लागेको छ । तराईका बाँकी क्षेत्रमा भने मौसम सफा छ । यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशीसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली इलाकामा सामान्य बदलीको अवस्था रहनेछ । मधेश प्रदेश, बागमती र गण्डकीको तराई क्षेत्र तथा अन्य प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली हुने र बाँकी तराई क्षेत्रमा मौसम सफा रहने विभागले जनाएको छ । यसैगरी कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र मधेश, लुम्बिनी, कर्णालीका पहाडी/हिमाली भेग र बागमती, गण्डकीका तराई क्षेत्रका एक-दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भने आज निकै गर्मी बढ्ने र तातो दिन हुने अनुमान गरिएको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली कायमै रहनेछ । मधेश, बागमती र गण्डकीको तराई तथा बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा मौसम सफा रहनेछ ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

