काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिने भनिएको विवादित जग्गा र भवन निर्माणको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले कलंकीमा १० रोपनी १४ आना जग्गासहित केन्द्रीय कार्यालय भवन बनाइदिने गुरुङ दम्पतीको प्रस्तावलाई धन्यवाद दिँदै फिर्ता गर्ने निष्कर्ष निकालेको हो । पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले अब बल्खुस्थित आफ्नै स्वामित्वमा रहेको जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्नेछ ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाले बल्खुमा भवन बनाउन कुनै कानुनी अड्चन नरहेको समेत उपमहासचिव भट्टले स्पष्ट पारेका छन् । यसअघि २०८१ असोजमा व्यवसायी गुरुङले एमालेलाई सो जग्गा दान दिने घोषणा गर्दै भवनको शिलान्यास समेत गरिसकिएको थियो । व्यापारिक घरानाबाट सित्तैमा जमिन र भवन लिन लागेको भन्दै एमालेको चौतर्फी आलोचना हुनुका साथै पार्टीभित्रै पनि तीव्र असन्तुष्टि चुलिएको थियो ।
विक्रम संवत २०७२ सालको विनाशकारी भूकम्पले बल्खुस्थित पुरानो मुख्यालय भत्काएयता एमालेले भाडाको घरबाट आफ्नो पार्टी गतिविधि सञ्चालन गर्दै आएको छ ।

