Khaptad Organic Nepal

बैतडी । यस वर्ष समय-समयमा वर्षा भएका कारण बैतडीको पाटन नगरपालिका–८ का किसान केशव विष्ट निकै उत्साहित छन् ।

आलुखेतीबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म कमाउँदै आएका विष्ट यस पटक उत्पादन र आम्दानी दुवै बढ्ने आशमा छन् । समयमै पानी परेकाले खेतहरू हरियाली बनेको र आलुसँगै अन्य मौसमी तरकारीको उत्पादन पनि राम्रो हुने उनले बताए । पाटन नगरपालिकाका ८, ९ र १० नम्बर वडालाई आलुखेतीको पकेट क्षेत्र मानिन्छ, जहाँका अधिकांश नागरिक तरकारीखेतीबाटै आत्मनिर्भर बनेका छन् । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार यस जिल्लाबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु बाहिर पठाउने गरिएको छ । यस वर्ष अनुकूल मौसमका कारण विगतको तुलनामा उत्पादन २० प्रतिशतसम्म बढ्न सक्ने अनुमान केन्द्रका प्रमुख हरिदत्त जोशीको छ ।

तर, राम्रो उत्पादनको सम्भावना भए पनि शीतभण्डार र सिँचाइको उचित व्यवस्था नहुँदा यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ । स्थानीय स्तरमा शीतभण्डार नहुँदा आलुको बीउ जोगाउन छिमेकी जिल्ला डडेल्धुरा पुर्‍याउनुपर्ने बाध्यता छ । प्रदेश र सङ्घीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमा बनेका दुईवटा शीतभण्डार वर्षौँदेखि अलपत्र छन् । करोडौँको लागतमा बनेका ती संरचना सञ्चालनमा नआउँदा कृषि उपज सुरक्षित राख्न नसकिएको स्थानीय किसान नरबहादुर विष्टले गुनासो गरे । सरोकारवाला निकायले यसतर्फ ध्यान नदिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको करिब ४२ लाख रुपैयाँ लागतमा बनेको एउटा शीतभण्डार अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । सरकारी अनुदान लिएर शीतभण्डार निर्माण गरेका सञ्चालक मोहनदेव भट्ट हाल सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

त्यस्तै, साविकको नयाँ सहर आयोजनाको कार्यालयमार्फत ८४ लाख २९ हजार रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको अर्को शीतभण्डारमा विद्युत् जडान नगरिएका कारण थन्किएको छ । विद्युत् र केही प्राविधिक उपकरण जडानका लागि आवश्यक बजेट नभएकाले आगामी वर्षका लागि रकम माग गरिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिए ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।