जनकपुरधाम । मधेश प्रदेशको सत्ता समीकरणमा ठुलो फेरबदल भएको छ ।
केन्द्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच भएको सहमति अनुसार प्रदेशमा पनि नयाँ गठबन्धन बनेको हो । नयाँ समीकरण अनुसार जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारबाट बाहिर राखिएको छ ।
गठबन्धन परिवर्तन भएसँगै एमालेका मोहम्मद समिरलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको छ भने जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाह रहेका छन् ।
यसै गरी, मुख्यमन्त्री कृष्ण यादवले जसपा नेपालका तर्फबाट सरकारमा सहभागी तीन मन्त्रीहरू राजकुमार गुप्ता, रानी शर्मा तिवारी र मनीष सुमनलाई पदबाट बर्खास्त गरेका छन् । राजीनामा दिन अस्वीकार गरेपछि उनीहरूलाई हटाइएको हो । जसपा नेपालले सरकारलाई विश्वासको मत दिने निर्णय गरे पनि उसलाई नयाँ गठबन्धनमा सामेल गरिएको छैन । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने तयारी गरेका छन् । एमालेको समर्थनसँगै अब कांग्रेस नेतृत्वको सरकार सुरक्षित देखिएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा अहिले एमालेका २४, कांग्रेसका २२, जसपा नेपालका १८, नेकपाका १५, जनमतका १२ र लोसपाका ८ सांसद छन् ।

