काठमाडौँ । रासायनिक मलको वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले नयाँ मापदण्ड लागू गर्ने भएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले अबदेखि किसानहरूले खेती गर्ने जमिनको क्षेत्रफल र उत्पादनको अनुपातलाई मुख्य आधार बनाएर मल उपलब्ध गराउने तयारी थालेको हो । मुख्यगरी धान खेतीको सिजनमा किसानलाई मलको अभाव हुन नदिने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठका अनुसार हाल देशभर झन्डै १ लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात अवस्थामा रहेको छ । यसका साथै धान बालीलाई नै लक्षित गरेर थप ४० हजार मेट्रिकटन मल आयात गर्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइएको छ । उनले सडक मार्ग हुँदै थप ४ हजार ५ सय ८५ मेट्रिकटन मल नेपाल भित्रिने क्रममा रहेको समेत जानकारी दिए ।
सरकारले चालू आर्थिक वर्षभित्र कुल ६ लाख मेट्रिकटन रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ । यो परिमाणको मल खरिदका लागि सरकारले २८ अर्ब ८२ करोड १४ लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको मन्त्रालयले जनाएको छ ।

