काठमाडौँ । संसदमा सांसदहरूले उठाएका विविध प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।
लामो समयदेखि जनप्रतिनिधिहरूले माग गरेबमोजिम प्रधानमन्त्री संसद्मा आएका हुन् । बैठकको सुरुमै सभामुख डोलप्रसाद (डीपी) अर्यालले दलगत आधारमा प्रश्न सोध्नका लागि प्रतिदल दुई मिनेटको समय निर्धारण गरेका छन् ।
सभामुखले तोकेको उक्त समयसीमाप्रति विपक्षी दलहरूले भने तत्कालै विरोध जनाएका छन् । प्रधानमन्त्रीले संसद्मा उत्तर दिनु भन्दा तीन दिन अगावै प्रश्नहरू उपलब्ध गराउनुपर्ने स्थापित संसदीय अभ्यास र नियम रहेको भन्दै विपक्षी सांसदहरूले संसद्मा आपत्ति प्रकट गरे ।
संसद्मा अहिले विरोधका बीच पनि सांसदहरूले पालैपालो आफ्ना जिज्ञासा राखिरहेका छन् भने प्रधानमन्त्री शाहले त्यसको उत्तर दिने क्रम जारी छ ।

