बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला समिति बैठकमा तीव्र असन्तुष्टि र विरोध प्रदर्शन भएको छ ।
शनिबार आयोजना गरिएको विस्तारित बैठकमा कार्यकर्ताहरूले चर्को नाराबाजी र होहल्ला गरेपछि तनाबपूर्ण स्थिति सिर्जना भएको हो । रास्वपाले हालै जिल्ला समिति विघटन गरेपछि सुरु भएको आन्तरिक विवाद यो बैठकमा थप उग्र बनेको बताइएको छ ।
पार्टी स्थापनाकालदेखि योगदान पुर्याएका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई पाखा लगाएर नेतृत्वले एकलौटी ढंगले आफ्ना मान्छेहरू भित्र्याउन खोजेको भन्दै असन्तुष्ट पक्षले बैठक सुरु हुनासाथ विरोध जनाएका थिए । संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठनबाट विस्थापित गर्न खोजिएको उनीहरूको आरोप छ ।
विवादले उग्र रूप लिएपछि बैठकमा सहभागी हुन पुगेका चार जना सांसदहरूलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित रूपमा बाहिर निकालिएको छ । आक्रोशित कार्यकर्ताहरूको घेराउ र नाराबाजीका बीच सांसदहरू गणेश धिमाल, चन्दन कुमार सिंह, अरविन्द शाह र रहवर अन्सारीलाई सुरक्षा अधिकारीहरूले सुरक्षित स्थानतर्फ पुर्याएका थिए ।
संगठनभित्रको यो विवादले रास्वपाको बारा जिल्ला समितिमा आन्तरिक कलह निकै गहिरिएको संकेत गरेको छ ।

