काठमाडौँ । मुलुकभर आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमका साथ मनाइँदैछ ।
यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भता र समृद्धि’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिनुभएको छ । नेपालमा धान उत्पादन बढाएर परनिर्भरता घटाउने र कृषकहरूलाई व्यावसायिक रूपमा प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष असार १५ गतेलाई उत्सवका रूपमा मनाउने गरिन्छ । सरकारले २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट यस दिनलाई औपचारिक रूपमा धान दिवस घोषित गरेको थियो ।
नेपाली संस्कृतिमा आजको दिन रोपाइँ गरेर दही चिउरा खाने विशेष परम्परा समेत रहिआएको छ । नेपालको समग्र अर्थतन्त्र र खाद्य सुरक्षामा धानको भूमिका सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रले ३३ प्रतिशत योगदान पुर्याउँदै आएकोमा धान मात्रै एक्लैको हिस्सा करिब १२ प्रतिशत रहेको छ ।
यति ठूलो महत्त्व भए पनि पर्याप्त जल, जमिन र जनशक्तिको उचित उपयोग हुन नसक्दा नेपालमा धानको उत्पादन अपेक्षाकृत रूपमा वृद्धि हुन सकेको छैन । कृषि विज्ञहरूका अनुसार दक्ष युवा जनशक्ति वैदेशिक रोजगारीमा जानु, खेतीयोग्य भूमिको तीव्र गतिमा प्लटिङ हुनु, सिँचाइ सुविधाको अभाव, उन्नत बीउबिजन तथा मलको समयमा उपलब्धता नहुनु र धानको उचित समर्थन मूल्य नतोकिनु उत्पादन घट्नुका मुख्य कारण हुन् ।
नेपाली समाजमा नियमित रूपमा भात नै खाने बानीका कारण चामलको आयात चुलिँदै गएको छ, जसलाई न्यूनीकरण गर्दै धान उत्पादन दोब्बर बनाउने सरकारी लक्ष्य छ । विश्वव्यापी रूपमा हेर्दा पनि एसियाली मुलुकहरूमा धान मुख्य खाद्य बाली हो, जहाँ चीन र भारत संसारमै सबैभन्दा धेरै धान फलाउने मुलुकमा पर्छन् ।
नेपालको सन्दर्भमा झापा जिल्ला सबैभन्दा धेरै धान उत्पादन गर्ने जिल्ला हो भने जुम्लाको छुमचौर विश्वकै सबैभन्दा उच्च स्थानमा धान फल्ने ठाउँका रूपमा प्रसिद्ध छ, जहाँको स्थानीय जुम्ली मार्सी धानको माग निकै उच्च छ । देशमा खाद्य माग बढ्दै गए पनि कुल ३१ लाख हेक्टर खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै पनि बाँझो रहनुले कृषि क्षेत्रको चुनौतीलाई स्पष्ट पार्छ ।

