काठमाडौँ । ओझेलमा परेका नेपालका प्राकृतिक र सांस्कृतिक गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन नेपाल पर्यटन बोर्डले व्यापक डिजिटल अभियान सुरु गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा बोर्डले देशभरका २०० भन्दा बढी डिजिटल कन्टेन्ट क्रियटरहरूलाई पर्यटकीय क्षेत्रमा खटाउने योजना बनाएको छ ।
यस अभियानअन्तर्गत भ्लगिङ, फोटो पत्रकारिता, खानपान, कला-संस्कृति, र यात्रा विधामा सक्रिय युवाहरूले विभिन्न ओझेलमा परेका पर्यटकीय स्थलहरूको भ्रमण गरी सामग्री तयार पार्नेछन् । चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डिजिटल पर्यटन प्रवर्द्धन, तस्बिर तथा भिडियो सामग्री उत्पादन र डिजिटल कन्टेन्ट बैंक निर्माणलाई प्राथमिकताप्राप्त कार्यक्रमका रूपमा अघि सारिएको हो ।
स्थानीय संस्कृति, मौलिक जीवनशैली र नौलो गन्तव्यको प्रवर्द्धनसँगै कन्टेन्ट क्रियसनलाई एउटा दिगो उद्योग र रोजगारको माध्यम बनाउने लक्ष्य बोर्डले लिएको छ ।

