काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा फरक-फरक मौसमी प्रणालीको प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रमा मनसुनी वायु सक्रिय छ । यसैगरी गण्डकी प्रदेशको केही हिस्सा र लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा पनि मनसुनको प्रभाव परेको छ । बाँकी रहेका अन्य क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक असर देखिएको विभागले जनाएको छ ।
अहिले देशका हिमाली तथा पहाडी भेगमा सामान्यतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक रूपमा बादल लागेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो हिमाली र पहाडी भू-भागसँगै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहने अनुमान छ । मधेश प्रदेशमा आंशिक बादल लाग्ने भए तापनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । यसैगरी कोशीको तराईका थोरै स्थान र मधेश, बागमती तथा गण्डकी प्रदेशको तराईका थोरै क्षेत्रमा चट्याङ्गसहित पानी पर्न सक्छ । लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो लहर (लू) चल्ने तथा बागमती र गण्डकीको तराईमा अत्यधिक गर्मी हुने विभागको प्रक्षेपण छ ।
आज राति कोशी, बागमती र गण्डकीको हिमाली तथा पहाडी क्षेत्र र कोशीको तराईमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागमा आंशिक बदली हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको तराईमा मौसम सफा रहने देखिन्छ । कोशी र गण्डकीको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा र बागमतीको एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा वा हिमपातको सम्भावना छ । कोशी र मधेश प्रदेशको तराई क्षेत्रमा पनि केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ ।

