काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा अहिले स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको नजिकै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाका कारण पनि मौसममा बदली आएको हो । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका भू-भागमा आंशिक बादल लागेको छ । यसैगरी कोशी, बागमती र कर्णालीका थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरकै हिमाली तथा पहाडी भेगमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बदली हुने अनुमान गरिएको छ । कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मौसम खराब हुन सक्छ । साथै, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको समेत सम्भावना रहेको छ ।
यसैगरी आज रात्रिकालीन समयमा देशको हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भू-भागमा आंशिक बादल लागे पनि तराईको मौसम सामान्यतया सफा रहने देखिन्छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

