काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशैभर मनसुनी वायु सक्रिय रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक सरेकाले वर्षाको सम्भावना बढेको हो । अहिले पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पहाडी र तराईका धेरै क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा भारी वर्षाको समेत सम्भावना छ ।
रातिको समयमा वर्षा अझ बढ्ने र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम रहेका स्थानमा विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

