काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको स्पष्ट प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू-भाग नजिक अवस्थित भएकाले देशभर मौसममा बदली र वर्षाको क्रम जारी छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका साथै मधेश र तराईका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।
हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हिमपात तथा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यो क्रम राति पनि कायम रहने र विशेषगरी कोशी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।
लगातारको वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र गेग्रान बहावको जोखिमबाट बच्न महाशाखाले सबैलाई सचेत गराएको छ ।

