काठमाडौँ । मुलुकभर अहिले मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भेगतर्फ औसतभन्दा दक्षिणमा र पश्चिमी भेगतर्फ औसत स्थानकै आसपासमा अवस्थित छ ।
अहिले देशभर सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पहाडी र हिमाली क्षेत्रका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा सामान्य बदली रहने देखिन्छ । कोशी, मधेश र बागमती प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदलीको सम्भावना छ । देशका पहाडी भेगका केही स्थान र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको आकलन गरिएको छ । तराईतर्फ गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान, कोशी र बागमतीका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ । विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यसैगरी आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै कोशी, कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा रातिको समयमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ । कोशीको तराई र मधेश प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको पूर्वानुमान गरिएको छ ।
रातिको समयमा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

