काठमाडौँ । नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई जना नेपाली कृषकको अविलम्ब रिहाइका लागि ठोस कूटनीतिक कदम चाल्न सरकारसमक्ष जोडदार माग गरेको छ ।
यसका साथै मुलुकभर किसानले भोगिरहेको रासायनिक मलको चरम shortage हटाई तत्काल आपूर्ति सहज बनाउन पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।
सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सीमावर्ती भारतीय बजार सोनवरसाबाट आफ्नो बालीका लागि दुई बोरा युरिया तथा डिएपी मल किनेर फर्कने क्रममा भारतीय सुरक्षाकर्मीबाट पक्राउ परेका थिए ।
विगत २० दिनदेखि बिहारको सीतामढीस्थित डुमरा जेलमा थुनामा रहेका उनीहरूको विषयलाई लिएर कांग्रेसले गम्भीर चिन्ता प्रकट गरेको छ । स्वदेशमा समयमा मल नपाएपछि बाध्य भएर सीमापारि पुगेका किसान पक्राउ पर्नु र गोदाममा मल थन्किँदा किसान भने जेल जानुपर्ने स्थिति सिर्जना हुनु अत्यन्तै दुःखद भएको कांग्रेसको ठहर छ ।
नेपाल र भारतबीचको ऐतिहासिक मित्रता एवं खुला सीमाको भावनालाई कदर गर्दै दुवै किसानलाई अविलम्ब रिहा गर्न र सीमा क्षेत्रका संवेदनशील विषयलाई कूटनीतिक माध्यमबाट सुल्झाउन आग्रह गरिएको छ ।

