काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत मलेसियामा जारी प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा बहराइनको सामना गर्दैछ । नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि यो प्रतिस्पर्धा सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन दिन ओमान र हङकङले आ-आफ्नो खेल जित्दै सुखद सुरुआत गरिसकेका छन् । समूह ‘बी’ तर्फ ओमानले सिंगापुरलाई पाखा लगायो भने समूह ‘ए’ को भिडन्तमा हङकङले साउदी अरेबियामाथि जित दर्ता गर्यो । नेपाल रहेको समूह ‘ए’ मा हङकङ, साउदी अरेबिया, बहराइन र आयोजक मलेसिया सम्मिलित छन् ।
नेपालले आज बहराइनसँग खेलेपछि सेप्टेम्बर ३ मा मलेसिया, सेप्टेम्बर ६ मा साउदी अरेबिया र सेप्टेम्बर ८ मा हङकङ चाइनासँग प्रतिस्पर्धा गर्ने तालिका छ । यस उपाधि विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान पक्का गर्नेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेको कप्तानत्वमा १४ सदस्यीय मजबुत टोली मलेसिया पठाएको छ । टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा मैदान उत्रिनेछन् ।

