काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र उक्त विधेयक पेस गर्ने कार्यसूची रहेको छ । साथै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन् ।
यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गर्ने कार्यक्रम छ ।
सन्धीसम्बन्धी कार्य अन्तर्गत मन्त्री सोविता गौतमले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि बैठकमा पेस गर्ने कार्यसूची तय गरिएको छ ।

