काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेको जनाउँदै विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ ।
न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेकाले हाल मुलुकभर बदली हुनुका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो स्थानका साथै तराईका भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
साथै मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

