काठमाडौँ । प्रतिनिधिसभामा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन् ।
सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेपछि प्रधानमन्त्री शाह पहिलोपटक संसदमा प्रत्यक्ष प्रश्नोत्तरका लागि उपस्थित हुन लागेका हुन् ।
संसद सचिवालयका अनुसार अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यतालिका तय गरिएको छ । आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका गरी ११ जना सांसदले प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रश्न सोध्ने कार्यक्रम छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंहले प्रश्न दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्नेछन् ।
त्यसैगरी नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्ने कार्यतालिका रहेको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको स्पष्ट व्यवस्था छ । लामो समयसम्म उक्त अभ्यास रोकिँदै आएकोमा सभामुखको रुलिङपछि प्रधानमन्त्री संसदमा जवाफ दिन तयार भएका हुन् ।

