काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि साधारणतया बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ ।
सुदूरपश्चिमको तराईका साथै मुलुकका पहाडी भू-भागमा मेघ गर्जनसहित बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ । अहिले बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा पनि वर्षा दर्ज गरिएको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर साधारणतया बदली रही हिमाली तथा पहाडी भेगका धेरैजसो स्थानमा चट्याङ्ग र मेघगर्जनसहित मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका पहाडी इलाकामा भने भारी वर्षाको समेत जोखिम छ । तराई क्षेत्रका केही स्थानमा पनि हावाहुरीसहित वर्षा हुने अनुमान छ ।
यस्तै आज राति हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराईमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली भेगमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपात हुने महाशाखाको भनाइ छ । पहाडी तथा तराईका विभिन्न भू-भागमा रातिको समयमा पनि थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना कायमै रहने बताइएको छ ।

