काठमाडौँ । उपभोक्तालाई बिल लिने बानीको विकास गराउन आन्तरिक राजस्व विभागले सञ्चालन गर्न लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’का सबै प्राविधिक तयारी पूरा भएका छन् । यसै क्रममा विभागले साउन महिनाको पहिलो १५ दिनको कारोबारलाई लक्षित गर्दै आज शुक्रबार पहिलो चरणको उपहार घोषणा गर्दैछ ।
विभागका अनुसार गत साउन १ गतेदेखि १५ गतेसम्म डिजिटल माध्यमबाट प्यान वा भ्याट बिल लिई वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो योजनामा सोझै सहभागी भएका छन् । नगदमा कारोबार गरेका ग्राहकहरूले भने विभागको आधिकारिक वेबसाइटमा गएर भौतिक बिलको विवरण अपलोड गरी डिजिटल कुपन प्राप्त गरेको हुनुपर्छ । साउन पहिलो १५ दिनको दैनिक कारोबारका आधारमा १५ जना भाग्यशाली विजेता छनोट गरिनेछ , जसले नियमानुसार लाग्ने कर कट्टी पछि जनही एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
यसका साथै सोही अवधिमा वस्तु वा सेवा खरिद गर्ने सम्पूर्ण उपभोक्ताहरूलाई समेटेर एक जनाका लागि १० लाख रुपैयाँको बम्पर उपहारको समेत घोषणा गरिनेछ । बम्पर पुरस्कार प्राप्त गर्ने विजेताको रकममा भने नियमानुसार कर लागू हुने विभागले जनाएको छ ।
उपभोक्तालाई कर प्रणालीमा आकर्षित गर्ने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यो कार्यक्रमको घोषणा गरेका थिए । स्वीकृत कार्यविधि अनुसार अब हरेक महिनाको १६ गते (अघिल्लो महिनाको १ देखि १५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि मसान्तसम्मको कारोबार) मा यसरी नै नियमित रूपमा उपहार विजेताहरूको नाम सार्वजनिक गरिनेछ ।
क्युआर कोड, डिजिटल वालेट वा बैंकिङ माध्यमबाट भुक्तानी गर्दा उपभोक्ता स्वतः प्रणालीमा आबद्ध हुने भए पनि पछि दाबी गर्नका लागि खरिद गरिएको सक्कल बिल सुरक्षित राख्नु अनिवार्य गरिएको छ ।

