काठमाडौँ । साताको दोस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । निरन्तर दबाबमा परेको सेयर बजार ५.३० अंकले घट्दै २५९४.२७ विन्दुमा ओर्लिएर अडिएको छ ।
नेप्से घटे पनि आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ । कुल ३५७ कम्पनीको एक करोड ४४ लाख ४४ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको छ । समूहगत सूचकतर्फ विकास बैंक र निर्जीव बिमाबाहेक अन्य सबै उपसमूहका सेयर मूल्य घटेका छन् ।
आजको कारोबारमा सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सर्वाधिक १४.९९ प्रतिशतको उछाल आएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको सेयर १४.९५ प्रतिशतले बढेको छ । अर्कातर्फ धवलागिरी लघुवित्तका लगानीकर्ताले सर्वाधिक १०.०७ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज मकर जितुमाया सुरी हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको ९० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भयो । त्यस्तै रिलायन्स स्पिनिङ मिल १७ करोड ७१ लाख रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा रहन पुगेको छ ।

