काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत नेपालले आज आयोजक मलेसियाको सामना गर्दैछ । मलेसियाको बाँगीस्थित वाईएसडी–युकेएम क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि सुरु हुँदैछ ।
नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ । अर्कोतर्फ मलेसियाले पनि आफ्नो पहिलो खेलमा साउदी अरेबियामाथि ९३ रनको फराकिलो जित दर्ता गरेको थियो ।
समूह ‘ए’ मा नेपाल, मलेसिया र हङकङले आ-आफ्नो पहिलो खेल जित्दै अघिल्लो यात्रा बलियो बनाएका छन् । यस समूहमा साउदी अरेबियाले आफ्ना दुवै खेल गुमाएको छ भने बहराइनले पहिलो खेलमा पराजय व्यहोरेको छ ।
नेपालले आफ्नो तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग र चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने तालिका छ । यस प्रतियोगिताको विजेता टोली सन् २०२७ मा हुने एसिया कपका लागि छनोट हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली मलेसिया पठाएको छ । टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

