झापा । झापाको बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडक खण्डमा सोमबार बिहान बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
भागडुब्बाबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनालगत्तै गम्भीर घाइते भएका बाह्रदशी–४ का १८ वर्षीय मोटरसाइकल चालक करण राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याइएकोमा चिकित्सकले दिउँसो १२: १० बजे मृत घोषणा गरेका हुन् ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १९ वर्षीय अजय राजवंशी घाइते भएका छन् । उनको अवस्था हाल मध्यम रहेको छ । प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र बाह्रदशी–१ सालघारीका ४१ वर्षीय बस चालक धनबहादुर खड्कालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

