काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास अवस्थित छ । आज देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ ।
देशको हिमाली भू–भागका केही र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको आकलन छ । देशका हिमाली भू–भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

