काठमाडौँ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछन् ।
दिनको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग र खप्तड फाल्कन्सबीच दिउँसो ४ बजे प्रतिस्पर्धा हुने कार्यतालिका छ । यसअघि खेलेका तीनै खेलमा पराजय भोगेको खप्तड पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने तीनमध्ये दुई खेल जितिसकेको अन्नपूर्ण आफ्नो लय कायम राख्ने दाउमा छ ।
त्यसैगरी साँझ ७ बजे हुने दोस्रो खेलमा काठमाडौँ रेड्स र कर्णाली शिवराज आमनेसामने हुनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको कर्णाली अहिलेसम्मका तीनै खेल जितेर अपराजित छ भने काठमाडौँ रेड्सले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।
केडिया समूहको आयोजनामा भइरहेको यो पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग हो, जसमा कुल ६ टोली सहभागी छन् । भदौ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नेपाली भलिबल इतिहासकै सर्वाधिक २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । सिंगल राउन्ड रोबिनका आधारमा खेलाइएको लिग चरणको समाप्तिपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोली सोझै फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले फाइनल प्रवेशका लागि निर्णयक प्रतिस्पर्धा गर्नेछन् ।

