काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी प्रणाली र भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको दोहोरो प्रभावका कारण मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।
अहिले मधेस प्रदेशमा आंशिक बदली रहे पनि अन्य सबै प्रदेशहरूमा साधारणतया बदलीको अवस्था छ । देशका हिमाली, पहाडी तथा तराईका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानहरूमा भारी वर्षा हुनसक्ने अनुमान छ ।
यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

