काठमाडौँ । देशैभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ ।
हाल कोशी प्रदेशको तराईका क्षेत्र तथा मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने देशका बाँकी भू-भागमा साधारणतया बदलीको अवस्था छ । बागमती प्रदेशका केही स्थानका साथै कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । तराईतर्फ कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थान र मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीसमेत चल्न सक्नेछ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेको छ ।
आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । तराई भू-भागको हकमा कोशीका केही, मधेश, बागमती र गण्डकीका थोरै तथा लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा वर्षा हुन सक्नेछ । रातिको समयमा कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

