काठमाडौँ । उपत्यकामा विद्युतीय तारलाई भूमिगत बनाउने कार्यलाई तीव्रता दिन नेपाल विद्युत् प्राधिकरणले आगामी आठ दिनसम्म काठमाडौंका विभिन्न ठाउँमा दैनिक विद्युत् कटौती गर्ने भएको छ ।
प्राधिकरणको कुलेश्वर तथा बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरूमा मर्मत तथा विस्तारको काम गर्नुपर्ने भएकाले आजदेखि कात्तिक २० गतेसम्म बिजुली जाने भएको हो । सो अवधिभर हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक १३ गते हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् बन्द हुनेछ । यसैगरी कात्तिक १४ र १६ गते कलंकीदेखि स्युचाटार क्षेत्रमा तथा कात्तिक १५ गते कलंकी चोकदेखि ढुंगेअड्डातर्फको क्षेत्रमा विद्युत् कटौति हुनेछ ।
त्यस्तै, कात्तिक १७ गते युएनपार्कदेखि बिजुलीबजारसम्म, कात्तिक १८ र २० गते धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र कात्तिक १९ गते हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति रोकिनेछ ।
मौसममा फेरबदल आएमा तोकिएको तालिकामा संशोधन हुन सक्ने जानकारी दिँदै प्राधिकरणले भूमिगत लाइन विस्तारका क्रममा पर्न जाने असुविधाप्रति ध्यान दिई आवश्यक पूर्वतयारी गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

