काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको प्रतिस्पर्धा वर्षाका कारण प्रभावित बनेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा निरन्तर परेको भारी वर्षाले पानी जमेपछि खेल सञ्चालन हुन सकेन । मैदान खेल्न योग्य नभएपछि टस समेत नगरी खेल रद्द गरिएको घोषणा गरिएको हो । स्पर्धा हुन नसकेपछि दुवै टोलीले समान एक-एक अंक बाँडेका छन् ।
अंक बाँडेसँगै तालिकामा हेरफेर भएको छ । तीन अंक जोडेको लुम्बिनी लायन्स दोस्रो स्थानमा उक्लिएको छ भने समान तीन अंक नै रहेको चितवन राइनोज तेस्रो स्थानमा पुगेको छ ।
यसैबीच, आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुने कार्यतालिका छ । तर लगातारको वर्षा र मैदानको अवस्थाका कारण उक्त खेल सञ्चालन हुनेमा पनि अन्योल छाएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार साँझ ७:४० बजेसम्म मैदान खेल्न योग्य भएमा कम्तीमा ५-५ ओभरको खेल गराउने तयारी गरिएको छ ।

