काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको जनाएको छ ।
यसै क्रममा आज दिनभर देशका पहाडी तथा हिमाली भेगका केही स्थानमा आंशिक बदली रहने र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातसमेत हुन सक्नेछ । बिहानको समयमा तराईका केही क्षेत्र, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लाग्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

