काठमाडौँ । गुठी संस्थानका नवमनोनीत पदाधिकारी तथा सदस्यहरूले बिहीबार औपचारिक रूपमा मनोनयन पत्र बुझेका छन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संस्थानको विद्वत् समिति र सञ्चालक समितिमा नियुक्त भएका कुल आठ जनालाई मनोनयन पत्र प्रदान गरेका हुन् ।
गत मङ्सिर १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार विद्वत् समितिमा सभापतिसहित पाँच जना र सञ्चालक समितिमा तीन जना सदस्यको नियुक्ति भएको थियो ।
विद्वत् समितिको सभापतिको जिम्मेवारी ललितपुर महालक्ष्मी–१ का सञ्जय अधिकारीले पाएका छन् । त्यस्तै, सोही समितिको सदस्यहरूमा ललितपुर कुपण्डोल–१० का दिनेश खरेल, काभ्रे नयाँगाउँ–१ की देवकी न्यौपाने, काठमाडौँ–३० कमलपोखरीका सरोज थपलिया र ताप्लेजुङ आठराई त्रिवेणी–४ स्थायी ठेगाना भई हाल भक्तपुरको सूर्यविनायक बस्ने थाइन्द्र बहादुर लिम्बु आङ्बुहाङ चयन भएका छन् ।
यसैगरी, संस्थानको सञ्चालक समिति सदस्यमा काठमाडौँ–२२ टेवहालकी गिता सिक्राकार, सिराहा तिनुवापती–२ का दिनेश यादव र ललितपुर ओकुबहाल–६ का रवि शाक्य मनोनीत भएका छन् ।

