काठमाडौँ । पशु अधिकार संरक्षण तथा पशुपंक्षीमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले छुट्टै ‘पशु कल्याण विधेयक’को मस्यौदा तयार पारेर सरोकारवालासँग सुझाव संकलन थालेको छ ।
आइतबार कुकुर तिहारका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस्तो जानकारी दिएकी हुन् ।
मन्त्री चौधरीका अनुसार २०७८ सालमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति पाएपछि विधेयकको मस्यौदा निर्माण प्रक्रिया अघि बढाइएको हो । लामो समयदेखि पशु अधिकारकर्मीहरूले छुट्टै ऐनको माग गर्दै आएको सन्दर्भमा सरकार नीतिगत र कानूनी व्यवस्था सुदृढ बनाउन सक्रिय रहेको उनले स्पष्ट पारिन् ।
नेपालको संविधान, मुलुकी अपराध संहिता २०७४ तथा पशु कल्याण निर्देशिका २०७३ ले पशुपंक्षीको संरक्षण र निर्दयी व्यवहार नियन्त्रणका लागि विभिन्न प्रावधान राखेको मन्त्री चौधरीले स्मरण गराइन् । निर्देशिकाले पशु ढुवानीमा हुने क्रूरता रोक्नुका साथै कामदार पशुलाई दैनिक बढीमा आठ घण्टा मात्र काममा लगाउन पाइने र सातामा कम्तीमा एक दिन विश्राम दिनुपर्ने स्पष्ट व्यवस्था गरेको उनले उल्लेख गरिन् ।
त्यस्तै, राष्ट्रिय पशु कल्याण तथा स्रोत व्यवस्थापन कार्यालयमार्फत प्राविधिक मार्गनिर्देशन प्रकाशन तथा सम्बद्ध गतिविधि सञ्चालन भइरहेको जानकारी दिँदै उनले कानूनी संरचनासँगै विद्यमान नियमको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताइन् । विसं १९८४ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पशुपतिनाथ गौशाला स्थापना गरेको प्रसङ्ग जोड्दै मन्त्री चौधरीले नेपालमा पशु संरक्षणको परम्परा ऐतिहासिक समयदेखि नै रहेको धारणा व्यक्त गरिन् ।

