काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित परिवारका बालबालिकालाई सरकारले उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने भएको छ ।
बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएकाका सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ शिक्षा तथा खेलकुद मन्त्रालयले यस्तो व्यवस्था मिलाएको हो ।
प्रथम चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ । बाँकी प्रभावित बालबालिकाको पहिचान गर्दै आगामी चरणहरूमा छात्रवृत्ति विस्तार गर्दै लैजाने मन्त्रालयको योजना छ । ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत भई विद्यालय तहको निःशुल्क शिक्षा कार्यान्वयनमा आइसकेकाले अब उच्च शिक्षालाई समेत समेट्न नयाँ निर्णय गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
निजी विद्यालयमा पढिरहेका बालबालिकाका हकमा शिक्षा विभागले अभिलेख राखी सम्बन्धित छाता संस्था र स्थानीय तहलाई पत्राचार गर्नेछ । सामुदायिक विद्यालयका विद्यार्थीका लागि सम्बन्धित स्थानीय तहलाई नै ताकेता गरिनेछ ।
त्यसैगरी उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विश्वविद्यालय अनुदान आयोग मार्फत क्याम्पस तथा विश्वविद्यालयहरूमा उपलब्ध नियमित छात्रवृत्ति कोटामै थप गरी समावेश गराइनेछ । यो निर्णय लागू भएसँगै प्रभावित बालबालिकाले जुनसुकै विषयमा पनि उच्च तहसम्म पूर्ण रूपमा निःशुल्क पढ्न पाउनेछन् ।

