काठमाडौँ । नेपालीहरूको महान् चाड तिहार अन्तर्गत आज धनकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।
यस वर्ष तिथिको संयोगले गर्दा आजैका दिन नरकचतुर्दशी, कुकुरतिहार र लक्ष्मीपूजा तथा दीपमालिका एकैसाथ परेका छन् । घरलाई सफासुग्घर राखी दीपावली गरेर लक्ष्मीलाई स्वागत गर्ने परम्परा अनुसार बिहानैदेखि सरसफाइ तथा लिपपोतका कामहरू सम्पन्न गरिएका छन् । झ्याल, ढोका र कौसीलाई बत्तीहरूले झिलीमिली बनाइँदैछ ।
शास्त्र अनुसार आजको रातलाई सुखरात्रि भनिन्छ । साँझको समयमा आँगनदेखि पूजा कोठासम्म चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ उसै बाटो भएर लक्ष्मी प्रवेश गर्ने विश्वास गरिन्छ । दीप प्रज्वलन गरी कलश, गणेश र लक्ष्मी स्थापना गरेर विभिन्न फलफूल, नैवेद्य तथा गरगहना चढाएर विधिपूर्वक पूजा गरिन्छ । पूजाआजा पश्चात् छोरीचेली तथा कन्याहरूलाई लक्ष्मीको रूपमा मानेर दक्षिणा दिने चलन छ ।
त्यसैगरी, मानव सभ्यताको सुरुवाती चरणदेखि नै नजिक रहेको बफादार तथा साहसी जीव कुकुरलाई आजकै दिन मीठा परिकार खुवाएर र माला लगाएर सम्मान प्रकट गरिएको छ । साँझको समयमा युवासमूहले घरघरमा भैलो खेलेर तिहारको रौनक थप बढाउने गरेका छन् ।

