झापा । भारतबाट भित्रिने जङ्गली हात्तीको बथानले पाकेको बाली सखाप पार्ने त्रास बढेपछि झापाको मेचीनगर नगरपालिका–४, बाहुनडाँगीका किसानलाई सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिले खेतमै पुगेर धान काट्न सघाएका छन् ।
हात्तीको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षति रोक्न र बाली सुरक्षित भित्र्याउन सामूहिक अभियान थालिएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी (RRT) टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा प्रभावित क्षेत्रको २० बिघाभन्दा बढी जमिनको धान काट्ने काम भइरहेको छ । यही क्रममा ३० जना सुरक्षाकर्मी र स्थानीयको टोलीले कृषक खेमनारायण घिमिरेको ३ बिघा खेतको धान एकै दिनमा काटिदिएको छ ।
बाली जोगाउन किसान रातभर जाग्राम बस्नुपर्ने बाध्यता आएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा थप सुरक्षा जनशक्ति परिचालन गरिएको हो ।
यसले एकातिर छिटो धान थन्क्याउन मद्दत पुगेको छ भने अर्कोतिर हात्तीको प्रवेश नियन्त्रण गर्न सहज भएको छ । संकटको बेला किसानको खेतमै पुगेर सहयोग गरेको भन्दै वडा कार्यालयले सुरक्षाकर्मीलाई सम्मानसमेत गरेको छ ।

