Khaptad Organic Nepal

चितवन । माडी नगरपालिकास्थित सरकारी स्वामित्वको बघौडा अस्पतालमा बिरामीको उपचार तथा औषधि खरिदबापतको शुल्क संस्थागत बैङ्क खातामा जम्मा नगरी कर्मचारीहरूको व्यक्तिगत खाता र क्युआर कोडमार्फत असुल्ने गरिएको तथ्य बाहिरिएको छ ।

तिहारको राति निधारमा चोट लागेका भतिजको उपचार गराउन अस्पताल पुगेका गीतकार तथा सामाजिक अभियन्ता शङ्कर पाण्डे मुक्तिले आकस्मिक कक्षको टिकट काट्दा र फार्मेसीबाट टाँका लगाउने सामग्री किन्दा फरक–फरक व्यक्तिको नाममा रहेको निजी क्युआर कोडमार्फत रकम भुक्तानी गर्नुपरेको जानकारी सार्वजनिक गरेका हुन् । अस्पतालको आधिकारिक खाता नम्बर माग्दा कर्मचारीले तत्काल व्यक्तिगत खातामा रकम पठाएपछि बिल काट्ने र पछि अस्पतालको खातामा दाखिला गरिदिने जवाफ दिएको पाण्डेले बताएका छन् ।

आफूसँग डिजिटल भुक्तानीका स्क्रिन सट र बिलहरूसहितका सबै प्रमाण सुरक्षित रहेको उल्लेख गर्दै अभियन्ता पाण्डेले सरकारी संस्थाको राजस्व व्यक्तिगत खातामा सङ्कलन गर्ने कानुनी आधार प्रस्ट पार्न र हालसम्म उठेको रकमको पारदर्शी विवरण तत्काल सार्वजनिक गर्न माग गरेका छन् । यस्तो कार्यशैलीले आर्थिक अनियमितताको आशङ्का जन्माउनुका साथै स्वयं कर्मचारीहरूलाई समेत कानुनी झमेलामा पार्न सक्ने उनको तर्क छ ।

आर्थिक सुशासनसँगै पाण्डेले अस्पताल व्यवस्थापन समिति, प्रशासन र स्थानीय तहसमक्ष सेवा प्रवाह सुधारका लागि ६ बुँदे ध्यानाकर्षणसमेत गराएका छन् । उनका मुख्य मागहरूमा तत्काल संस्थागत बैङ्क खाता र आधिकारिक क्युआर प्रणाली सञ्चालनमा ल्याउनुपर्ने, निजी खातामा जम्मा भएको कुल रकमको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई अनिवार्य पोसाक तथा परिचयपत्रको व्यवस्था गरिनुपर्ने, आकस्मिक कक्षमा पर्याप्त जनशक्ति खटाउनुपर्ने र फार्मेसीमा अत्यावश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने विषय समावेश छन् । चाडपर्वको समयमा पनि खटिएर उपचार गर्ने स्वास्थ्यकर्मीहरूको कर्तव्यनिष्ठताको प्रशंसा गर्दै उनले आफ्नो चासो कुनै व्यक्तिविरुद्ध नभई प्रणाली सुधारका लागि मात्र भएको प्रस्ट पारेका छन् ।

सेवाग्राहीबाट उठेको यस गम्भीर गुनासोका सम्बन्धमा बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजकुमार पन्तले व्यक्तिगत खातामा रकम सङ्कलन भएको स्वीकार गरेका छन् । रातिको समयमा बिरामी आउने र अस्पतालसँग आफ्नै आधिकारिक क्युआर कोड नभएको बाध्यताका कारण कर्मचारीको व्यक्तिगत खाता प्रयोग गर्नुपरेको उनको स्पष्टीकरण छ । डा. पन्तले क्युआरमार्फत भुक्तानी गर्ने सेवाग्राहीको सङ्ख्या निकै कम हुने गरेको दाबी गर्दै व्यक्तिगत खातामा जम्मा भएको रकम हरेक १५ दिनको अन्तरालमा अस्पतालको आधिकारिक खातामा दाखिला गर्ने गरिएको जानकारी दिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।