काठमाडौँ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत आवासीय (रेजिडेन्ट) चिकित्सकहरू र कलेज व्यवस्थापनबीच सहमति जुटेसँगै चिकित्सकहरू पुनः अध्ययन तथा नियमित काममा फर्किन तयार भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा सरोकारवाला निकायहरूबीच भएको त्रिपक्षीय छलफलपछि लामो समयदेखिको विवाद समाधान भएको हो ।
कलेज व्यवस्थापनबाट अनावश्यक मानसिक दबाब र दुर्व्यवहार हुने गरेको तथा अध्ययनका लागि उपयुक्त वातावरण नभएको आरोप लगाउँदै प्रथम वर्षका आवासीय चिकित्सकहरू आन्दोलित बनेका थिए । मन्त्रालयमा आयोजित छलफलका क्रममा चिकित्सकहरूले आफूहरूले भोगेका समस्या राख्दै कलेजभित्र शान्तिपूर्ण र मर्यादित शैक्षिक वातावरण सुनिश्चित हुनुपर्ने माग राखेका थिए ।
सहमतिअनुसार अब कलेज प्रशासनले शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाएको छ भने अन्यत्र स्थानान्तरण हुन चाहने विद्यार्थीलाई नियमअनुसार रेजिडेन्सीबापतको शुल्क फिर्ता गरिने भएको छ । साथै, आवश्यक परेमा उक्त समझदारीलाई लिखित सम्झौतामार्फत औपचारिकता दिने निर्णयसमेत गरिएको छ ।
छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले चिकित्सकहरूको समस्यालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै विगतका कमजोरी सच्याएर स्वस्थ शैक्षिक वातावरण बनाउन कलेज व्यवस्थापन र विद्यार्थी दुवै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
यसैगरी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीले दुवै पक्षबीच समझदारी विकास भएकाले विद्यार्थीलाई अध्ययनमा फर्किन र व्यवस्थापनलाई प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरे । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डीन प्रा. डा. मोहनराज शर्माले सहमति कार्यान्वयन भए–नभएको विषयमा मन्त्रालय, आयोग र आईओएमले चरणबद्ध अनुगमन गर्ने जानकारी दिए ।
कलेजका अध्यक्ष प्रा. डा. जैनउद्दीन अन्सारीले विद्यार्थीको मागअनुसार शैक्षिक वातावरण सुधार गर्न व्यवस्थापन तयार रहेको बताएपछि चिकित्सकहरूले समझदारीप्रति आशावादी हुँदै काममा फर्किने प्रतिबद्धता जनाएका हुन् ।

