काठमाडौँ । मलेसिया रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौताविपरीत करिब १ अर्ब ६९ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले बिहीबार पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा श्रम मन्त्रालयका चार कर्मचारीलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन म्याद थप गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रका आधारमा उनीहरूलाई बुधबार राति नियन्त्रणमा लिएको थियो । पक्राउ पर्ने अन्य व्यक्तिहरूमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजिव पोखरेल तथा उपसचिव निर्मला गुरुङ रहेका छन् ।
सीआईबीका अनुसार आरोपितहरूविरुद्ध ठगी तथा संगठित अपराधको कसूरमा विस्तृत अनुसन्धान भइरहेको छ । नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीको उल्लंघन गर्दै गैरकानुनी ढंगले रकम असुली गरी हिनामिना गरेको उनीहरूमाथि अभियोग छ ।
अनुसन्धानका क्रममा ३ लाख ७० हजार ४ सय ३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९०.८० बेलायती पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा अपचलन भएको विवरण खुलेको ब्युरोले जनाएको छ ।

