जनकपुरधाम । साप्ताहिक रूपमा सञ्चालन हुने ‘सरयू–कमला एक्सप्रेस’ रेलले आउँदो शनिबारदेखि जनकपुरधाम र अयोध्याबीच नियमित व्यावसायिक सेवा सुरु गर्ने भएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो सोमबार भिडियो कन्फ्रेन्स मार्फत संयुक्त रूपमा हरियो झण्डा देखाएर यो सेवाको शुभारम्भ गरेका थिए । उद्घाटनपछि अब सर्वसाधारण यात्रुका लागि नियमित सञ्चालन हुन लागेको हो ।
समयतालिका अनुसार यो रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ र सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ । भारतीय रेल्वेले जनकपुरधाम–अयोध्या रुटका लागि टिकट बुकिङ समेत खुला गरिसकेको छ ।
भारतीय रेल्वेले तय गरेको भाडादर अनुसार शयनयान श्रेणी (स्लिपर) का लागि ३६५ भारतीय रुपैयाँ शुल्क तोकिएको छ । त्यसैगरी वातानुकूलित तृतीय इकोनोमी श्रेणीमा ८८५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीमा ९६५ भारतीय रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीमा १ हजार ३६० भारतीय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार नेपाली रुपैयाँमा भाडादर बिहान ९ देखि १० बजेभित्र सार्वजनिक गरिनेछ ।
यात्रुहरूले भारतीय रेल्वेको अनलाइन पोर्टल आईआरसीटीसीको वेबसाइट, मोबाइल एप वा सम्बन्धित रेल्वे स्टेसनमा पुगेर भौतिक रूपमा टिकट लिन सक्नेछन् । भारतीय रेल्वेको व्यवस्था बमोजिम उक्त रेलमा नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउनेछन् ।
कुल १७ वटा डिब्बा रहने यस साप्ताहिक एक्सप्रेस रेलमा शयनयान श्रेणीका ७ वटा, वातानुकूलित तृतीय इकोनोमी श्रेणीका ३ वटा, वातानुकूलित तृतीय श्रेणीका ३ वटा, वातानुकूलित द्वितीय श्रेणीका २ वटा र एसएलआरका २ वटा डिब्बा समावेश गरिएका छन् ।

