सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार विभिन्न आठ विधाका खेल प्रतिस्पर्धा हुँदैछन् ।
आयोजकका अनुसार आज टेनिस स्पर्धा बर्दियामा आयोजना गरिनेछ भने बाँकी सात खेल सुर्खेतका विभिन्न स्थानमा हुनेछन् । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा महिला क्रिकेट र महिला बास्केटबलका खेल सञ्चालन हुनेछन् । त्यसैगरी पुरुष क्रिकेट कालुञ्चोक मैदानमा र पुरुष फुटबल नेपाली सेनाको राजदल गणमा तय गरिएका छन् । अन्य खेलमध्ये बक्सिङ मुख्य कभर्डहल, जिम्न्यास्टिक मिनी कभर्डहल तथा फुलकन्ट्याक्ट कराते ब्याडमिन्टन कभर्डहलमा हुने आयोजकले जनाएको छ ।
मंसिर ८ गतेदेखि अनौपचारिक चरणमा सुरु भएको यस प्रतियोगितामा पौडी र शारीरिक सुगठनका स्पर्धा भने सकिइसकेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने तालिका तय भएको छ ।
पाँचौँ दिनसम्मको पदक तालिकामा बागमती प्रदेश १९ स्वर्ण, १२ रजत र १४ कांस्यसहित कुल ४५ पदक हात पार्दै अग्रस्थानमा छ । गैरआवासीय नेपाली संघ १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित कुल २० पदकसहित दोस्रो स्थानमा रहेको छ । नेपाली सेनाले भने ११ स्वर्ण, २० रजत र १९ कांस्यसहित सबैभन्दा धेरै ५० पदक जिते पनि स्वर्ण संख्या कम भएकाले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । चौथो स्थानमा रहेको नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १८ कांस्यसहित ४१ पदक जोडेको छ ।
गण्डकी प्रदेश ४ स्वर्ण, १ रजत र ४ कांस्यसहित कुल ९ पदक जितेर पाँचौँ स्थानमा उक्लिएको छ । कोशी प्रदेश ४ स्वर्ण, १ रजत र १ कांस्यसहित ६ पदक र सशस्त्र प्रहरी बल ३ स्वर्ण, १ रजत र १ कांस्यसहित ५ पदकका साथ क्रमशः छैटौँ र सातौँ स्थानमा छन् ।
तालिकाको सातौँ स्थानमा लुम्बिनी प्रदेश २ स्वर्ण, ६ रजत र ३ कांस्यसहित कुल ११ पदक जितेर सातौँ स्थानमा रहेको छ । सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ५ रजत र २ कांस्यसहित कुल ९ पदकसहित आठौँ स्थानमा छ ।
यसैगरी मधेश प्रदेशले हालसम्म २ कांस्य पदक मात्र प्राप्त गरेको छ भने आयोजक कर्णाली प्रदेशले पाँचौँ दिनसम्म खाता खोल्न सकेको छैन ।

