काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त रकम असुली गरिएको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न अदालतले चार दिनको म्याद थप गरेको छ ।
काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई हिरासतमा राखेर थप छानबिन अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतमा रहेको भनिएका अर्याललाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याएको थियो । पक्राउलगत्तै प्रहरीले उनको निवासमा समेत खानतलासी गरेको थियो भने शुक्रबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव पदमा रहँदा अर्यालले मलेसिया जाने कामदारबाट अवैध रूपमा शुल्क उठाउने निर्णय प्रक्रियामा भूमिका खेलेको आरोप लागेको छ । नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट स्वास्थ्य परीक्षणका बहानामा प्रतिव्यक्ति थप १०० मलेसियन रिंगेट असुल गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको विवरणअनुसार सन् २०१९ देखि २०२४ सम्मको अवधिमा यसरी संकलन गरिएको एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम १७ पटक गरेर मलेसिया पठाइएको थियो । विदेश पठाइएको उक्त रकममा ८३ लाख ७० हजार अमेरिकी डलर र ३७ लाख १७ हजार बेलायती पाउन्डसमेत समावेश रहेको जनाइएको छ । अवैध रूपमा उक्त शुल्क संकलन गर्ने कार्यमा मलेसियाली कम्पनीको स्थानीय प्रतिनिधि संस्था म्याक्रो टेक प्रालिको संलग्नता रहेको प्रहरीको दाबी छ ।
यही प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन उच्च अधिकारी तथा सम्बन्धित व्यवसायीहरूलाई पक्राउ गरिसकेको छ ।

