युनिकोड
Khaptad Organic Nepal

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा दुई देशबीच थाँती रहेका सीमासम्बन्धी विषयलाई कूटनीतिक संवादबाट टुङ्ग्याउने समझदारी बनेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत मंसिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको भारत भ्रमणका उपलब्धि र सीमा व्यवस्थापनबारे जानकारी गराएको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीबीच सीमा क्षेत्रको संयुक्त स्थलगत निरीक्षण गर्ने तथा सीमा स्तम्भहरूको मर्मतसम्भार अघि बढाउने सहमति भएको छ । विद्यमान सीमा विवाद समाधानको प्रक्रिया तत्काल थाल्न दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशनसमेत दिइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

स्थापित द्विपक्षीय संयन्त्रहरूको प्रयोग गरी कूटनीतिक तवरबाट निकास खोज्न दुवै मुलुक प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ । दुवै पक्षलाई अनुकूल हुने मिति तय गरी नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवस्तरीय बैठक बसेर लामो समयदेखि अल्झिएका सीमासम्बन्धी विषयलाई निष्कर्षमा पुर्‍याइने जनाइएको छ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्तापछि जारी संयुक्त भिजन डकुमेन्टमा समेत सीमा समस्याको विषयलाई समेटिएको प्रवक्ता क्षेत्रीले स्पष्ट पारे । पत्रकार सम्मेलनमा उनले भने, ‘सीमासम्बन्धी विषय ज्वाइन्ट भिजन डकुमेन्टमा पनि समावेश भएको छ । दुई प्रधानमन्त्रीले नेपाल र भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमास्तम्भहरूको मर्मतसम्भार कार्यको उल्लेख गर्नुभएको छ । विद्यमान सीमासम्बन्धी जुन विषय छ, सो कार्य अघि बढाउन परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशन दिइसक्नुभएको छ ।’

यसैगरी, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका कार्यकारी प्रमुखसमक्ष पेस हुनेमा नेपाल सरकार विश्वस्त देखिएको छ । उमेरगत कारण देखाउँदै ईपीजीका नेपाली टोली संयोजक भेषबहादुर थापाले आफूसँग रहेको प्रतिवेदनको साँचो २०८३ जेठ २१ गते नै परराष्ट्र सचिवलाई बुझाइसकेको मन्त्रालयले जनाएको छ ।

पूर्वसहमतिअनुसार ईपीजी प्रतिवेदन सुरुमा भारतीय प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने कार्यतालिका तय भएको थियो । दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन हस्तान्तरणका लागि उपयुक्त समय मिल्ने विश्वास सरकारले लिएको छ । ईपीजी गठनको मर्मअनुसार प्रतिवेदनले औँल्याएका द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा काम जारी राख्नुपर्ने सरकारी धारणा छ ।

प्रवक्ता क्षेत्रीले अगाडि भने, ‘ईपीजीले उक्त प्रतिवेदन दुवै प्रधानमन्त्रीहरूसमक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो विश्वास छ । सो समयसम्म ईपीजी गठन हुनुका मूलभूत उद्देश्यहरू थिए, ती दुईपक्षीय विषयलाई दुवै पक्षले संयुक्त रूपमा त्यससम्बन्धी कामलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो विश्वास छ ।’

नेपाल सरकारले ईपीजी प्रतिवेदन बुझ्ने विषयमा आशावादी धारणा राखे पनि भारतीय पक्षले भने यसलाई असान्दर्भिक भनिसकेको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै ईपीजी विगतको विषय बनिसकेको र वर्तमान सन्दर्भमा यसको सान्दर्भिकता नरहेको बताएका थिए ।

भ्रमणका क्रममा जारी संयुक्त भिजन डकुमेन्टले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन मार्गनिर्देश गरेको मन्त्रालयको निष्कर्ष छ । डकुमेन्टमा समेटिएका विभिन्न आयामलाई कार्यान्वयनमा लैजान परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सरोकारवाला निकायहरूसँग पत्राचार तथा समन्वयको काम थालिसकेको प्रवक्ता क्षेत्रीले बताए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।